काठमाडौं: कञ्चनपुर प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनु शाहीले आफूले एक प्रहरी जवानलाई यातना दिएको घटना बाहिरिएपछि रमाइलो लागेको प्रतिक्रिया दिएकी छिन्।
इन्सपेक्टर शाहीले प्रहरी जवान नरेन्द्र नाथलाई शारारिक तथा मानसिक यातना दिएको समाचार महेन्द्रनगरपोष्टले प्रकाशन गरेको थियो। सो समाचार प्रकाशन भएपछि शाहीले आफूलाई रमाइलो लागेको प्रतिक्रिया दिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा शाखा हेर्ने इन्सपेक्टर शाहीले दिएको यातनाकै कारण प्रहरी जवान नाथले जागिर राजीनामा समेत गरेका छन्।
शाहीले पटकपटक थुनुवा तथा आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारीहरुलाई यातना दिने गरेका घटनाहरु बाहिरिए पनि उनले गैरजिम्मेवारी प्रतिक्रिया दिएकी हुन्।
उनले समाचारलाई भ्रामक भएको र त्यसमा पनि आफूलाई रमाइलो नै लागेको दाबी गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरा धेरै शुभचिन्तक मित्रह्ररुले भ्रामक समाचारमा रमाइलो मानेर गुनगान गरेकोमा मलाइ पनि रमाइलो लागेकै छ। दुख केवल एउटा कुरामा मात्र हो मेरो नाम गलत लेखेकोमा। नाम बिनु शाही हो बिना शाही होइन्। धन्यवाद।’
बाजुरामा कार्यरत रहेका प्रहरी जवान नरेन्द्र नाथले बिदामा महेन्द्रनगर आएको बेला यातना खेप्नुपरेको र त्यसपछि राजीनामा दिएको बताएका छन्। आफूमाथि भएको ज्यादतीबिरुद्ध प्रदेश प्रहरी कार्यालयमा पुग्दा समेत न्याय नपाएर राजीनामा दिएको उनले सुनाए।
उता, बाजुराका डीएसपी कबिन्द्र बोहराले राजीनामा आएको र स्वीकृतीका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम पठाइएको बताए।
शाही बेलाबेला विवादमा आइरहने इन्सपेक्टर हुन्। केही समय अघि पनि उनी विवादमा आएकी थिइन्। त्यसबेला पनि उनलाई कसैले केही नगरी घटना सामसुम भएको थियो।
अहिलेको घटनामा भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश डाँगीले प्रहरी जवान नाथलाई थुनेर यातना दिएको विषय आफूलाई जानकारी नभएको बताएका छन्। तर, डीएसपी डाँगीले ती प्रहरी उजुरी ल्याएर आए थप जाँचबुझ गरेर दोषीलाई कारबाही गर्ने बताए।
र, यो पनि : इन्सपेक्टर ‘बिनु’को ज्यादती भएपछि जवानको ‘रिजाइन्’
कञ्चनपुरमा पुलिस थुनाभित्रै कुटिन्छन् थुनुवा ! इन्सपेक्टर बिनुको गोलमटोल जवाफ [भिडिओ]
यस अगाडि उक्त समाचार सामग्रीमा प्रयोग गरिएको शव्दको भाषाशैली संशोधन गरिएको छ। -सम्पादक