गड्डाचौकी: कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापाले चर्चाका लागि स्टन्ट गर्दा जिल्लाको शान्ति सुरक्षा नै खल्बलिएको छ। सन्की स्वभावका एसपी थापाले सीमा नाकामा फिल्मी शैलीमा भारतीय गाडीहरु कब्जामा लिएपछि तनाव उत्पन्न भएको हो।
थापा र उनका मातहतका प्रहरी अधिकृतका एकपछि अर्को गर्दै बेथिति र कार्यालयभित्रका कमजोरीमा महेन्द्रनगरपोष्टले निरन्तर खबरदारी गर्दै आएको अवस्थामा ती सबै गतिविधि डाइभर्ट गर्न एसपी थापाले सीमामा स्टन्ट गरेको व्यवसायीहरुले बताएका छन्।
अस्तीमात्र एसपी थापाको ठाडो निर्देशनमा गड्डाचौकी नाकाबाट भारतीय नम्बर प्लेटका सवारी साधनहरु नियन्त्रणमा लिइएको थियो।
पहिले ट्राफिक प्रहरीले चेकजाँच गरेर कागजात नभएकाहरूलाई मात्रै नियन्त्रणमा लिने गरेको थियो। तर अस्ति भने प्रहरीले पार्किङ गरेर राखिएका र नाका क्षेत्रमा फेला परेका सबै भारतीय नम्बरका गाडीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो।
तर पछि एसपी थापाले सनकमा गरेको अपरेसनमा प्रहरीले नियन्त्रणमा लिएका ५८ गाडीमध्ये १० गाडीमात्रै कागजात नभएका भेटिएका थिए। ती गाडीलाई भन्सारले जरिवाना तिराइएको बताइन्छ। अरु गाडीलाई भने तुरुन्तै छाडिएको थियो।
जबकी उनीहरूसँग सबै कागजात थिए। त्यस क्रममा सबै कागजात भएका सवारी धनी र यात्रु, पर्यटक र जन्तीसमेतले सास्ती भोगेका थिए। बेहुला बेहुलीसमेतको जन्तीलाई समेत एसपी थापाले जिप्रकाभित्र हुलेर केरकार गर्न लगाएका थिए।
एसपी थापाको यस्तो हर्कतले सीमामा तनाव बढेको स्थानीय व्यापारीको दाबी छ। एसपी थापाले भारतीय गाडी नियन्त्रणमा लिएपछि त्यसको भोलिपल्टै बुधबार भारततर्फको सुरक्षाकर्मीले पनि नेपालबाट भारततर्फ चल्ने सवारीहरु नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।
भारतीय प्रहरीले महाकाली यातायातका अध्यक्ष डम्बर पन्त, पवनदुत यातायात लगायतका निजी सवारीहरु नियन्त्रणमा लिएको थियो। एसपी थापाले भारतीयलाई दु:ख दिएको काउन्टरमा भारतीयले सीमा क्षेत्रमा देखिएको विवादबारे एसपी मौन बसेको बताइएको छ।
एसपी कमल थापाको निर्देशनमा सीमामा बबाल भएपछि जिल्लाकै शान्ति सुरक्षा खलबलिएको बताइएको छ। थापाले नियमानुसार चलेका र नचलेका सबै भारतीय सवारी गाडीलाई एकैसाथ उठाएपछि व्यवसायी आक्रोशित भएका थिए।
जबकी एसपीको निर्देशनमा गाडीहरु उठाएको विषयमा त्यो बेला त्यहाँको लोकल प्रहरी चौकी नै जानकार छैन।
यस्तै त्यहाँको सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरीसँग पनि समन्वय नगरेको बुझिएको छ। पछिल्लो दिन नेपालबाट भारततर्फ जाने सवारी समातिएपछि भने सशस्त्र प्रहरी बल नेपालका डीएसपी सीमामै बैठक गरेर सहजीकरण गरेका थिए। नेपाल प्रहरीका कारण पारिको सुरक्षाकर्मीले प्रतिशोध साँधेको र सीमाको अवस्था जटिल बनेको सशत्र स्रोतको बुझाई छ।
त्यस्तै यस अगाडि निर्वाध रूपमा चलिरहेका गाडीहरूलाई प्रहरीले एकाएक नियन्त्रणमा लिनु दुःख दिने नियत मात्रै भएको व्यवसायीको आरोप छ। महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिका अध्यक्ष डम्बर पन्तले सीमा क्षेत्रको संवेदनशील विषयमा प्रहरी गम्भीर नभएको जनाएका छन्।
यस्तै बिना कारण एसपीको प्रतिशोधले समातिएका नेपाली सवारीले पारी भारतीय प्रहरीलाई चलान कटाएर सवारी फिर्ता ल्याउनुपरेको उनले बताए।
सीमामा एसपीका कारण बिग्रेको अवस्था सहज बनाउन अहिले नेपालतर्फको सशस्त्र प्रहरी बल र उताको सुरक्षा निकाय समन्वय गरिरहेको छ। बनबासाका थानाध्यक्ष लक्ष्मण सिंह जगवाणले सीमामा भएका गतिविधि ठिक नभएको बताए। उनले कानुनी रुपमा सञ्चालित सवारी चल्न पाउनुपर्ने बताए। नागरिकलाई सास्ती दिने भन्दा सहज बनाउन प्रहरीको भूमिका हुनुपर्ने उनको जिकिर छ।
यता, बिरामी बोकेको गाडी, बिहेका गाडीसमेतलाई नछोडेका एसपी थापाले भने नाकामा भैरहेको सास्तीको विषयमा जानकार नरहेको भन्दै आफूले ठूलो ठूलो अपरेसन चलाएको बताए। गैरकानुनी गाडीहरु जाँचबुझ गरेर कारबाही गरेर छोडिएको उनले बताए।
सम्बन्धित समाचार :
भारतीय गाडी नियन्त्रणमा लिएपछि बनबासामा रोकीए नेपाली गाडी
कञ्चनपुरको दशगजा क्षेत्रमा पार्किङ गरिएका ५८ भारतीय गाडी प्रहरीको नियन्त्रणमा