काठमाडौं : नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै रिक्त भएको एसएसपी पदमा बढुवाको तयारी थालिएको छ। रिक्त पद पूर्तिको लागि प्रहरी प्रधान कार्यालयले तयारी थालेको हो।
बढुवा सिफारिस समितिले गत शुक्रबार एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै नेपाल प्रहरीमा चार एसएसपी दरबन्दी रिक्त भएको छ।
सोही रिक्त एसएसपीको दरबन्दीमा बढुवाका लागि तयारी थालिएको हो। बढुवाको गृहकार्य थालिएकोमा एसएसपी बढुवाका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। जसका लागि केही अधिकृतहरुले विचौलियामार्फत दौडधुप सुरु गरेका छन्।
स्रोतका अनुसार अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएका छन्। २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन्।
एसपी बस्नेत आर्थिक अनियमितताको आरोपमा निलम्बनमा समेत परेका अधिकृत हुन्। २०७७ मंसिरमा कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा मातहतका कार्यालयहरुबाट रकम असुलेको आरोपमा उनी निलम्बनमा परेका थिए। जसकारण उनी यसअघिको बढुवामा छुटेका थिए।
२०५५ मा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका अर्का एसपी श्यामकृष्ण अधिकारी पनि बढुवाको प्रतिस्पर्धामा छन्।
२०७८ भदौमा बाँकेको एसपी रहेका बेला उनी विवादमा आएका थिए। नेपालगञ्जको मोजाङ मिनी क्यासिनोका एजेन्टससँग मदिरा र मोबाइल उपहार लिएको भन्दै उनी आलोचित बनेका थिए।
राष्ट्रिय अनुसन्धानबाट आएका यी दुई अधिकृत बाहेक २०५६ मा इन्सपेक्टरमा भर्ना भएको टोली र २०५८ मा इन्सपेक्टरमा भर्ना भएको टोलीबीच एसएसपी बढुवा प्रतिस्पर्धा हुने देखिएको छ।
एसएसपी बढुवाको दाबेदारमा एसपी हिराबहादुर पाण्डे पनि छन्। जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रहेको बेला २०७९ पुसमा मदिरा सेवन गरेर सिरहाका एक कांग्रेस नेतालाई आक्रमण गर्छु भनेपछि उनको जिम्मेवारी खोसिएको थियो।
उनीहरुपछि एसएसएपी बढुवाका लागि नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, विनोद सिलवाल र भीमबहादुर दाहाल प्रतिस्पर्धामा छन्। उनीहरु सबै २०५६ मा इन्सपेक्टरमा भर्ना भएकाहरु हुन्। राष्ट्रिय अनुसन्धानबाट आएका दुई र २०५६ मा इन्सपेक्टरमा भर्ना भएका ७ जना गरी ९ जना एसएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ।
तर उनीहरुसँगै २६ माघ २०७५ मा एसपी भएका २०५८ का टोलीहरु पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन्। एकै पटक बढुवा भएकाले आफूहरु पनि एसएसपीको स्वभाविक दाबेदार रहेको भन्दै २०५८ को टोली पनि अहिले बढुवाको लविइङमा लागेको छ।
यो टोलीबाट रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढा मगर लगायत एसपीहरु पनि बढुवाको प्रतिस्पर्धामा छन्।
यसअघि डीआईजी बढुवामा २०५३ को राष्ट्रिय अनुसन्धानबाट आएको टोली र आइजीकै ब्याच छुटाएर बढुवा सिफारिस गरेका गृहमन्त्री रवि लामिछानेले अहिले भने के गर्छन् हेर्न बाँकी छ। यस्तै घरदैलोमा गएर विचौलियामार्फत दबाब दिन लगाउनेलाई बढुवा नगर्ने बताएका लामिछानेले सो वचन पूरा गर्छन् कि गर्दैनन् भन्ने पनि यो बढुवाबाट स्पष्ट हुनेछ।
गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले डीआईजी बढुवा भएलगत्तै चार एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको हो। बढुवा समितिमा प्रहरी महानिरीक्षक र उनले तोकेको एक जना अतिरिक्त महानिरीक्षक सदस्य रहन्छन्।
विवादित थापाको अस्वभाविक घरदैलो
हाल अख्तियारमा दरबन्दी रही कार्यरत रहेका एसपी कमल थापाले बढुवाका लागि अस्वभाविक दौडधुप गरिरहेको बताइएको छ। यस अगाडि सुदूरपश्चिमको कञ्चनपुर बस्दा उनी निकै विवादित बनेका थिए।
तस्करसँगको घुमुवामार्फत सेटिङ, आर्थिक अनुशासन कायम नराखेको, मुद्दा शाखामा विवादित कर्मचारी राखेको लगायतका विषयमा विवादित बनेका थिए। त्यसपछि उनीविरुद्ध छानबिन पनि भएको थियो। तर उनलाई त्यसमा केही कारबाही भएरनभएको भने खुलेको छैन।
त्यतिमात्र होइन, उनको विगत पनि त्यति सफा देखिदैन। २०७७ कर्तिकमा सुनसरी प्रहरी प्रमुख हुँदा एसपी थापामाथि आर्थिक लेनदेन गरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको थियो। त्यसबेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको थियो।
सुनसरीमा उनले आफू आईजीपी शैलेश थापाको विश्वासपात्र भएको भन्दै मातहतका केही घुमुवा र केही चौकीका इञ्चार्जमार्फत रकम असुली गर्ने गरेका थिए। स्रोतका अनुसार अख्तियारमा उजुरी र प्रदेश प्रहरीले छानबिन गरेसँगै एसपी थापाले आफूलाई राम्रो देखाउन केही पत्रकारलाई रात्रीभोज गराएर समाचार समेत लेखाएका थिए।
त्यस अगाडि डीएसपी हुँदा पूर्वीपहाडी जिल्ला संखुवासभामा उनले करोडौं कमाएको प्रहरी अधिकारीहरू नै बताउँछन्। २०७७ पुसमा सीमा क्षेत्रमा हुने तस्करी र लागूऔषध कारोबारमा संलग्नसँग पैसा उठाएर थापालाई बुझाउने घुमुवाहरू कारवाहीमा परेका थिए।
आर्थिक लेनदेन गरेको आरोप खेपेका एसपी थापाका घुमुवा प्रहरी र केही चौकीका इञ्चार्जलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले कारवाही गर्दै तानेको थियो।
सुनसरीमै भारतीय प्रहरीले ३० जेठ २०७८ मा तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए।
प्रहरीले एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा छानविन टोली गठन गरेको हो भने सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा अर्को छानविन टोली गठन भएको थियो।
छानविनमा तत्कालिन सुनसरीका एसपी कमल थापा र सशस्त्र प्रहरीका तत्कालिन एसपी माधव पौडेलको समेत संलग्नता रहेको खुलेको थियो। तर, स्याउ तस्करी प्रकरणमा एसपीद्वय थापा र पौडेललाई भने उन्मुक्ति दिइएको थियो। त्यो समयमा एसपी थापाको रबैयाविरुद्द नेपाली काँग्रेस सुनसरीले आपत्ती जनाउँदै सिडिओको ध्यानाकर्षण समेत गराएको थियो। उच्चपदस्त प्रहरीको संरक्षण पाएका थापालाई एमाले नेताको पनि साथ रहेको बताइन्छ। त्यसैले तल्लो दर्जाका प्रहरी कर्मचारीलाई कारबाही हुँदै आएपनि एसपी थापा भने बच्दै आएका छन्।
उनै एमाले निकट विवादास्पद एसपी थापाले अहिले पनि एमाले च्यानलमार्फत राजनैनिक घरदैलो अभियान थालेका छन्। बढुवाका लागि झापाका नेता गोविन्द थापामार्फत सोमबारदेखि उनले अभियान थालेको बताइएको छ। उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बढुवाका लागि हारगुहार गरेको बुझिएको हो।
र, यो पनिः कञ्चनपुरका एसपी थापाः जहाँ गयो त्यहीँ ‘विवादित’ !
महिला हवल्दारलाई रुवाउने ‘स्कोरपियो’ चढ्थे एसपी थापा, ‘विवादित’ उद्योगी चन्दसँग साँठगाँठ !
एसपी थापाको एरियामा खुलेआम तस्करी, सेटिङ्मै मिटिङदेखि धम्कीसम्म
कञ्चनपुरमा महिला हवल्दारमाथि हातपात, इन्सपेक्टर बिनुले केरकार गर्दा एसपीको संरक्षण
एसपी थापाको ‘स्टन्ट’ले सीमामा समस्या