काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज राष्ट्रपति द्रौपदी मुर्मूले मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन्।
प्रधान सेनापति सिग्देल भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा श्रीमती र छोरासहित अस्ति त्यता गएका थिए। उनी पर्सि स्वदेश फर्कने कार्यक्रम छ।
मंसिर पहिलो साता भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई पनि काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। मंसिर ६ गते राष्ट्रपति तथा सेनाका परमाधिपति रामचन्द्र पौडेले उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
यसबीच प्रधानसेनापति नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटमा व्यस्त छन्। उनले भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग हिजो भेटवार्ता गरेका थिए। त्यसैगरी राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, रक्षा सचिव, विदेश सचिवसँग पनि छुट्टा–छुट्टै भेटघाट गरेको बताइएको छ।
उनले हिजो नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्पगुच्छा चढाएर शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरेको सेनाले जनाएको छ। सो क्रममा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।