काठमाडौं: ३०औं प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर करिब दुई वर्षे कार्यकाल पूरा गरी आज सोमबार राति १२ बजेबाट अनिवार्य अवकाश गए। विद्यमान प्रहरी नियमावली २०७१ मा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण कुँवर राति १२ बजेबाट अवकाशमा गएका हुन्।
दुई वर्ष करिब ८० हजार फौजको कमान्ड गर्दै देशको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका कुँवर विवादै विवादमा जेलिए। आईजीपीको कमान्ड सम्हालेदेखि अवकाशको मुखसम्म आइपुग्दा उनी निकै विवादित बने। नक्कली भुटानी शरणार्थी प्रकरण, तत्कालीन गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण लगायतमा उनी निकै विवादमा तानिए।
यस्तै प्रहरीको आन्तरिक सरुवा-बढुवामा पनि उनी विवादरहित बन्न सकेनन्। यतिसम्म कि जाने बखत पनि उनले वरिष्ठ सईहरुको बढुवा तथा अवधि पुगेका एसपीहरुको सरुवासमेत गर्न सकेनन्। त्यसबाहेकका सरुवा बढुवामा पनि उनले अनेकन आरोप खेपे।
उनी कार्यकालभर डमी आईजीपी बन्नेदेखि आफैंलाई पदबाट हटाउने चलखेल भैरहेको घटनासम्मको साक्षी बने। त्यसका अलवा उनले विवादित बनेर हनिट्र्याप प्रकरणमा जोडिएका एसपी कमल थापालाई बढुवा रोक्का गर्नेबाहेक अन्य कारबाही र उनीमाथि थप अनुसन्धान गर्नै सकेनन्।
राजनैतिक दबाबकै कारण उनी डमी रोल प्ले गरिरहदा अन्य अव्यवसायिक प्रहरीलाई पनि कारबाही गर्ने सवालमा उनी कहिल्यै खरो उत्रन सकेनन्। त्यसको उदाहरण पछिल्लो पटकका पूर्व एआईजी श्यामलाल ज्ञवाली बने।
आईजी भएदेखि विवादको भुमरीमा परेका कुँवर अवकाशको उत्तरार्धमा आउँदा समेत विवादको सिलसिला जारी रह्यो। उनी विवादै विवादमा फसेर घर गए। १२ चैत २०७९ मा सिंहदरबारमा दर्ज्यानी चिह्न लगाएपछि आईजी कुँवरले आन्तरिक शुद्धीकरण आफ्नो भीष्म प्रतिज्ञा रहेको बताएका थिए।
तर त्यो गर्न उनी असफल देखिए। तल्लो दर्जाका प्रहरी अधिकारीहरु सानो गल्तीमा कारबाही हुँदा पनि कारबाहीकै लागि सिफारिस भएका जिल्ला एसपीहरु, अन्य एसएसपी, डीआईजी तथा एआईजीको हकमा पनि कुँवरको सक्रियता देखिएन। त्यस्तै जबरजस्ती राजीनामा गर्न लगाएर एआईजीको फुली बाँड्ने काम हुँदा पनि आईजी कुँवर त्यसको साक्षी बनेरै बसे।
तथापि लागुऔषध नियन्त्रण तथा कारबाही, अपराध अनुसन्धानका पाटाहरु र दैनिक शान्ति सुरक्षाका विषयहरु इन्टरपोलको सहयोगमा व्यक्ति पक्राउ गर्ने विषयहरुमा भने कुँवरको कार्यकाल सन्तोषजनक रह्यो। यस्तै अपराध अनुसन्धानकै लागि भनेर कुँवरको पालामा ९ करोड बढीको लागतमा एआई बेस बिजनेस इन्टेलिजेन्स टुल्स खरिद गरिएको छ। यसले अपराध अनुसन्धानमा थप सहजता ल्याउने प्रहरीको विश्वास छ।
यति भैरहदा नेपाल प्रहरीबाट तत्कालीन आइजिपी बसन्तबहादुर कुँवरसँगै आठ जना वरिष्ठ अधिकृतहरू (एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई त्यस्तै डिआइजी ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द) आज बिदा भएका छन्।
त्यसअघि नै मन्त्रिपरिषदको बैठकले एआइजी दीपक थापालाई ३१औं आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ र थापाले मंगलबार दर्ज्यानी चिह्न लगाएसँगै झन्डै ८० हजार प्रहरीको कमाण्ड सम्हाल्नेछन्। कुँवरले नवनियुक्त आइजिपी थापालाई सफल कार्यकालको शुभकामना समेत दिएका छन्।

अब नवनियुक्त आइजिपी थापा २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्।त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्। तर ३० वर्षे हट्ने गरी ल्याइएको विधेयक संसद्बाट पारित भएमा सेवा अवधि थप हुन सक्नेछ। तथापि विधेयक संसद्मा विचाराधीन छ। तर, यो अवधिमा ऐन पारित हुने सम्भावना कम भएको जानकारहरू बताउँछन्। किनकि, प्रहरी विधेयकलाई लिएर संगठनभित्र र बाहिर तीब्र आलोचना छ।
अहिले संसद्मा पेश भएको विधेयक जस्ताको तस्तै पारित भए संगठनको कमाण्ड कर्मचारी संयन्त्रको हातमा जाने भन्दै अधिकृतहरूले असन्तुष्टि जनाइरहेका छन्।
को हुन् थापा ?
यसअघि थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख थिए। थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ आईजीको प्रतिस्पर्धामा थिए।
आईजी नियुक्त भएका थापा फिल्ड कमान्ड र अपरेसनमा अनुभवी अधिकृतको रूपमा चिनिन्छन्। २०५२ भदौ १९ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ को मन्त्रिपरिषद् बैठकबाट एआईजीमा बढुवा भएका थिए।

इन्स्पेक्टरको बेसिक तालिम सकेपछि इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रमुख भएर थापाले काम गरेका थिए।
नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायलमा पनि काम गरेको अनुभव थापासँग छ। सशस्त्र द्वन्द्वमा थापाले इलाका प्रहरी कार्यालय मैकोट रुकुममा रहेर काम गरेका थिए। इलाका प्रहरी कार्यालय कात्तिके देउरालीमा काम गरेका थापाले इन्स्पेक्टर दर्जामै हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरे।
डीएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी कार्यालय खोटाङको २ वर्षसम्म कमान्ड गरेका उनले बाबुराम भट्टराई हुँदा प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार र प्रहरी वृत्त महाराजगञ्जको प्रमुखको रूपमा काम गरेका थिए।
महाराजगञ्ज वृत्तमा १९ महिनासम्म कमान्ड गरेका थापाले इलाका प्रहरी कार्यालय बुटवलमा पनि इन्चार्ज भएर काम गरे। प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, मकवानपुरमा काम गरेको अनुभव थापासँग छ।
एसपीमा बढुवा भएपछि थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुरको, बुटवल कार्यालयमा रहेर प्रहरी प्रमुखको रूपमा गरे। एसपीमै रहँदा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी मुख्यालयको बजेट शाखामा रहेर थापाले काम गर्ने मौका पाए।
एसएसपी बढुवा भएपछि भने आर्थिक प्रशासन महाशाखा, अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को प्रमुख भएर काम गरेका थापाले डीआईजीमा बढुवा भएपछि प्रबन्ध निर्देशनालय, बागमती प्रदेश प्रहरी प्रमुख रहेर काम गरेको अनुभव सँगालेका छन्।
थापाले एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख र सीआईबी प्रमुख भएर उनले काम गरे।

छैन सजिलो, के छन् चुनौती ?
प्रहरी प्रमुखका रुपमा थापाको कार्यकाल भने सहज भने छैन। यस अगाडिका आईजीको चरित्र, व्यवहार र कार्यशैलीभन्दा फरक देखिनुपर्ने र गर्नुपर्ने उनलाई पहिलो चुनौती छ। त्यसका अलवा संसदमा विचाराधीन प्रहरी विधेयक, त्यसमा प्रस्तावित सेवाशर्तदेखि समायोजनसम्मका जटिलता हल गर्नु उनको कार्यकालका निम्ति सर्वाधिक चुनौतीको विषय हो।
प्रहरी संगठनको साख बचाउने कि गिराउने भन्ने तहमा उक्त विधेयकले सरोकार राख्छन्। सबैसँग सहज सम्बन्ध स्थापित गर्दै आजसम्म उनले जागिर त चलाउदै आए। तर अब संगठन सञ्चालनमा राजनैनिक हस्तक्षेपबारे उनको भूमिका भने हेर्न बाकी छ।
संगठनका आन्तरिक सरुवा बढुवा काम कारबाही र प्रहरी हित तथा संगठन सुदृढीकरणमा पनि उनको भूमिका भने चुनौतीपूर्ण देखिन्छ।
र, यो पनि: BREAKING: एआईजी थापा नयाँ आइजीपीमा नियुक्त