धनगढी – सार्वजनिक लेखा समितिका सदस्य र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि धनगढी विमानस्थल विस्तारको नाममा करोडौं रुपैयाँको अपचलन र भ्रष्टाचार गरेको आरोप लागेको छ । समितिमै परेकाे गरिएको उजुरीमा मन्त्री आलेले पदको दुरुपयोग गर्दै निजी फाइदाका लागि सरकारी बजेट प्रयोग गरेको उल्लेख छ ।
उजुरी अनुसार, आलेले आफ्नो कार्यकालमा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको मुद्दती खाताबाट १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गराई सोही रकम धितोमा राखेर पुनः ऋण लिएको आरोप लागेको छ । सो ऋणको प्रयोग गरी उनले धनगढी विमानस्थल वरपरका क्षेत्रहरूमा ७५ करोड रुपैयाँ बराबरको ३० बिघा जग्गा खरिद गरेको उल्लेख छ ।
उक्त प्रक्रिया अघि बढाउन आलेले आफ्ना स्वकीय सचिव हेमन्त रेग्मी, इन्जिनियर अशोक जोशी (फुपुको छोरा), मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, ठेकेदार पवन गुप्ता र व्यवसायी तेन्जिंग शेर्पासँग मिलेमतो गरेको दाबी गरिएको छ । यसका लागि अशोक जोशी र हेम पन्तको नाममा एक कम्पनी समेत दर्ता गरिएको उजुरीमा उल्लेख छ ।
स्रोतका अनुसार, उनीहरूले प्रति कट्ठा साढे १२ लाखका दरले जग्गा खरिद गरेका थिए, जुन भविष्यमा विमानस्थल निर्माणपछि ५० लाख प्रति कट्ठासम्म मूल्य बढ्ने अनुमानसहित व्यापारिक योजना बनाइएको थियो । सो जग्गामा अन्य व्यवसायिक संरचना निर्माणको योजना पनि थियो ।
२०७८ पुस ११ गते मन्त्री आलेकै अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको बैठकबाट धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विस्तार गर्ने निर्णय गर्दै १ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको थियो । तर, आले मन्त्री पदबाट हटेपछि योजना अलपत्र परेको र उनीहरूको मुनाफा कमाउने योजनासमेत विफल भएको उजुरीमा दाबी गरिएको छ ।
उजुरीमा १ अर्ब ऋणमध्ये २५ करोड रुपैयाँ रकमसमेत व्यक्तिगत रूपमा कुम्ल्याइएको आशंका गरिएको पनि उल्लेख छ । त्यतिबेला बजेट स्रोत सुनिश्चित नगरी गुरुयोजना स्वीकृत गराएर काम अगाडि बढाइएको उजुरीमा उल्लेख छ ।
निवेदकले उजुरीमा आलेले संघीय संसदको मर्यादा र पदीय जिम्मेवारी विपरीत निजी स्वार्थका लागि यस्तो कार्य गरेको भन्दै यसमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरि कडा कारबाहीको माग गरेका छन् । उजुरीसँगै सम्बन्धित कम्पनी, जग्गा खरिद विवरण, गुरुयोजना लगायतका कागजात पनि संलग्न गरिएको जनाइएको छ ।
निज लेखासमितिका सदस्यबाट उजुरी दर्ता भएपछि यो प्रकरणमा थप कारबाहीको आशा गरिएको छ । यसमा संलग्न रहेका अन्य व्यक्तिहरूसमेत जिम्मेवार ठहरिने सम्भावना छ ।
यो पनि :
पूर्वमन्त्री आले समूहको धनगढी ‘एयरपोर्ट काण्ड’मा पस्यो अख्तियार, मन्त्रालय र प्राधिकरणलाई पत्र
धनगढी एयरपोर्टको जग्गा सेटिङकाण्डमा आफ्नो संलग्नता नरहेको रेग्मीको दाबी
धनगढी एयरपोर्ट बनाउने भन्दै आले समूहको ‘अर्बको सेटिङ’, बैंकदेखि अख्तियारसम्म कनेक्सन