महेन्द्रनगर – आफ्नै घरमा काम गर्न राखेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका व्यापारी सुशील चटौतलाई उम्काउन महान्यायाधिवक्ता मार्फत चलखेल भएको छ ।
महान्यायाधिवक्ता कार्यलय मातहतको ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयलाई महान्यायाधिवक्ता खम्मबहादुर खातीको सचिवालयबाट ‘कमजोर दफा लगाउन’ दबाब आएको हो ।
चटौतले आफ्नै घरमा काम गर्ने राखेकी १४ वर्षीया बालिकालाई तीन वर्षदेखि बलात्कार गर्दै आएको खुलेको थियो । ललितपुरको महेन्द्र आदर्श माविमा पढ्ने बालिका गत १० चैतमा स्कुलबाट घर जान नमानी झोक्राएर बसेपछि एक शिक्षिकाले प्रहरी प्रभाग इमाडोलमा बुझाइदिएकी थिइन् ।
प्रहरीसँगसमेत बालिकाले केही भेद नखोलेपछि राष्ट्रिय बालअधिकार परिषद् मातहतको बाल हेल्प लाइनमा बुझाएको थियो । बाल हेल्पलाइनको परामर्शको ५ दिनपछि आफूमाथि ‘सुशील अंकलले’ ती वर्षदेखि यौन अपराध गरेको खुलाएकी थिइन् ।
पीडितका बा आमा र आफन्तले समेत पीडितमाथि यस्तो अपराध नभएको भन्दै अभियुक्तकै पक्षमा वकालत गरेका थिए । संरक्षकको भूमिकामा मात्र रहने भनेर परिषद्सँग सम्झौता गरे पनि पीडितका बा–आमाले अनुसन्धान चलिरहेकै बेला बालिकालाई अस्पतालबाट अपहरण शैलीमा कञ्चनपुर पुर्याएका थिए ।
अभियुक्त सुशीलका बुबा तीर्थराज चटौतको व्यापारिक साइनो राज्यमन्त्री उमेश श्रेष्ठसँग जोडिन्छ । राज्यमन्त्री श्रेष्ठ र चटौतको आधा दर्जन जलविद्युत आयोजनामा साझेदारी छ । हाल अरोपी सुशील पुर्पक्षको लागि नख्खुकारागार राखिएको छ ।