काठमाडौं-नेकपा (एमाले) आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिने भएको छ।
संघीय संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
‘आजको बैठकमा अध्यक्षज्यूले विशेष निर्देशन दिए। उनले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘तपाईंहरू पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस्।’
३० वैशाखमा हुने स्थानीय तहको निनर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल गरे पनि देशभर एक्लै चुनावमा होमिने जानकारी दिए।