काठमाडौं-होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार यसबारे जानकारी दिएको हो।होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने जनाएको छ।
होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक इकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार व्रिफिङ्ग समेत गरेका छन्।
“फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतिहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टिकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ ।” एसएसपी उमेश राज जोशीले भने, “बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ।”