दार्चुला-सशस्त्र प्रहरी बल दार्चुलाले भारतसँग सीमा जोडिएका दार्चुलाका सबै नाकामा उच्च निगरानी थालेको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दार्चुलाका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल ४४ नम्वर गणका गणपति त्रिभुवन विष्टले बताए।
उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए। “मातहतका सबै युनिटलाई आवश्यकता अनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख विष्टले भने, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ।”
सो अन्तर्गत जिल्लामा अहिले लाली, जौलजिवी, दुमलिङ, छाङरु, पुलघाट ,दत्तु क्षेत्रमा रहेको विओपिहरु मर्फत उच्च निगरानी बढाइएको सशस्त्र प्रहरी बल ४४ नम्वर गण दार्चुलाले जनाएको छ।
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपसार नियन्त्रण गर्ने मुख्य योजना रहेको पनि सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाले जनाएको छ।