कञ्चनपुर: भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पुनः नेपाली भूमिमा दाबी गर्दै विवाद निम्त्याएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा एसएसबीले नेपाली भूमिमा दाबेव गरेपछि स्थानीय प्रतिकार उत्रिएका छन्। एसएसबीले नेपाली भूमिलाई आफ्नो भन्दै सीमाङ्कन गर्न थालेपछि स्थानीय बिरोधमा उत्रिएका हुन्।
नेपाल–भारत सीमा स्तम्भ नम्बर १७ नजिक भारतीयले १५ जना नेपाली परिवारको जग्गामा दाबी गरिरहेको छ।
स्थानीयका अनुसार मान बहादुर गुरुङ्ग, नारायण अधिकारी, लक्ष्मण बहादुर पुन मगर, अमर बहादुर थापा, बिरबल गुरुङ्ग, रतन बहादुर गुरुङ्ग, ईमान सिंह गुरुङ्ग, राम बहादुर सारु मगर, ढाल बहादुर गुरुङ्ग, टंक बहादुर गुरुङ्ग, तुल बहादुर गुरुङ्ग, खडक बहादुर रोकाया मगर लगायतको जग्गा दाबी गरेको हो।
एसएबीले आफ्नो भूमि भएको दाबी गर्दै नेपाली भूमिमा खम्बा गाडेको थिए। बिरोधमा उत्रिएका स्थानीयले ती सबै खम्बा उखेलेर फालि दिएका छन्।
स्थानीयको विरोधपछि नेपाली सुरक्षाकर्मी, स्थानीय, भारतीय सीमा सुरक्षा बल (एसएसबी) बैठक बसेको थियो। तर, बैठक विना निष्कर्ष टुङ्गिएको सहभागीहरुले बताएका छन्।
बैठकमा नेपालीहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्न नदिने धम्की दिएको बताइएको छ।
यसरी पटक-पटक भारतीय पक्षबाट दुःख पाउनुभन्दा नेपाल सरकारले सीमा क्षेत्रमा पर्खाल एवम् काँडेतार लगाउनुपर्ने माग उठिरहेको स्थानीय मानबहादुर गुरुङले बताए।