धनगढीः नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका पूर्वसांसद रेशमलाल चौधरीले बहुविवाह गरेको खुलेको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि जन्मकैद भुक्तान गरिरहेका र आज आममाफी पाएर रहा भएका चौधरीकी दुई पत्नी भएको खुलेको हो।
स्रोतका अनुसार उनकी कान्छी पत्नी आशा चौधरी हुन्। धनगढी उपमहानगरपालिका-६ स्थित जालीमा माइत रहेकी उनीसँग रेशमले टीकापुर घटना हुनुभन्दा पहिला नै लगनगाठो कसेका थिए।
अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन्। आज बिहान डिल्लीबजार कारागारबाट बाहिर आएपछि फेसबुकमार्फत आशाले रेशमलाई बधाइ तथा स्वागत गरेकी छन्।
रेशमसँग आफ्नी छोरीसहितको फोटो राख्दै उनले स्वागत तथा बधाइ दिएकी हुन्।
यस्तै रेशमकी जेठी पत्नी भने हालकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी हुन्। श्रेष्ठ आज कारागारमै दलबलसहित स्वागत गर्न गएकी थिइन्।
काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी रन्जिताले रेशमसँग अन्तरजातीय विवाह गरेकी हुन्। उनले रेशमको एक छोरा हुर्काइरहेकी छन्।
आज गणतन्त्र दिवसको दिन बिहान सबेरै जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरी फूलमाला, अबिरसहित बाजा बजाउँदै जेलबाट निस्केका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरीको बाजागाजासहित स्वागत गरिएको थियो। चौधरी आजै कैलाली जाने आउने तयारी छ।
२०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाई मात्रै माफी दिइएको हो। अन्य पाँच जना अहिले पनि कारागारमा छन्। बाँकी २९ जना फरार छन्।
थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो।
सोही घटनामा दोषी ठहर भइ आजीवन काराबासको सजाय पाएका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर सजाय माफी दिएपछि चौधरी सोमबार बिहान रिहा भएका हुन्।