काठमाडौं: शिव शिखर सहकारी घोटलाको पहिलो चरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहकारीले मुलुकभरबाट एक लाख निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको प्रहरीको दाबी छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले घटनाको अनुसन्धान गरेको हो । पहिलो चरणमा सिआइबीले भक्तपुरका निक्षेपकर्ताको उजुरीमाथि मात्रै अनुसन्धान सुरु गरेको थियो । यसक्रममा भक्तपुरबाट मात्रै सहकारीका सञ्चालकविरुद्ध एक हजार दुई सय ९२ पीडितको एक सय नौ जाहेरी परेका थिए।
६६ करोड ३१ लाख रुपैयाँको बिगो दाबी गर्दै सहकारीको सञ्चालकविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा अनुसन्धान प्रतिवेदन पेस गरिएको सिआइबी प्रवक्ता एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
भक्तपुरको मुद्दा दर्तापछि काठमाडौं र ललितपुरमा अनुसन्धान गर्ने सिआइबीको तयारी छ । उपत्यकाबाहिर जिल्लाका शाखाको हकमा भने सम्बन्धित जिल्लाका प्रहरी कार्यालयबाटै अनुसन्धान गर्न सिआइबीले पत्राचार गरिसकेको छ । जसअनुसार सम्बन्धित जिल्लामै अनुसन्धान भइरहेको छ ।
चितवनको भरतपुर, टाँडी र मुग्लिन, बाँकेको नेपालगन्ज, कोहलपुर र बैजनाथ, कैलालीको धनगढी र अत्तरिया, डडेल्धुरा, दाङको तुलसीपुर र भालुवाङ, मकवानपुरको हेटौँडा, सुर्खेतको वीरेन्द्रनगर, बाग्लुङको श्रीनगर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, रुपन्देहीको बुटवल, डोटीको दिपायलमा शाखा तथा सेवाकेन्द्र सञ्चालित छन् । त्यसमा हाल दुई–तीनवटा मात्र शाखा सञ्चालनमा छन् । अरूले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि बन्द गरेका छन् ।
सिआइबीले सहकारीका सञ्चालकद्वय अमिशराज भण्डारी र पुष्कर मल्ल तथा सहकारीको मुख्य ऋण लगानी रहेको शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मालाई पक्राउ गरेको छ । तर, सहकारीको नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा भने फरार छन् । पक्राउ परेकी गीता केदारनाथकी श्रीमती हुन् ।
केदारनाथले भारतको राजस्थानमा समेत लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । भारतबाट खाद्यान्न नेपाल ल्याएर बिक्री गर्न भन्दै भारतमा लगानी गरेका थिए ।
यस्तै केदारनाथकी श्रीमती गीता शर्माले साढे दुई करोड रुपैयाँ पर्ने टोयटाको फर्चुनर गाडी खरिद गरेकी थिइन् । सो गाडी सिआइबीले बरामद गरिसकेको छ ।