कैलाली– कञ्चनपुर क्षेत्र नम्बर १ नेपाली कांग्रेसले गठबन्धन दलसंगै चुनावी तालमेल नगरि एक्लै चुनाव लड्ने निर्णय गरेको छ । प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।
स्थानीय स्तरका नेता कार्यकर्ताहरू गठबन्धनको पक्षमा नभएको भन्दै एक्लै निर्वाचनमा होमिने निर्णय गरेको क्षेत्रीय सचिव विसराम रानाले बताए । कोही पनि गठबन्धनको पक्षमा नदेखिएकाले एक्लै निर्वाचनमा होमिने निर्णय गरिएको उनले बताए ।
सचिव राना र सभापति गोपी प्रसाद उपाध्यायद्वारा जारी गरिएको बिज्ञप्तिमा पनि गठबन्धन नगर्न अनुरोध गरिएको छ । क्षेत्र नम्बर १ मा ४ वटा स्थानीय तह पर्छ ।
बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेलडाडी गाउँपालिका र लालझाडी नगरपालिका पर्छन् । ती सबै स्थानीय तहका नेता कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको सचिव रानाले बताए । गठबन्धनको छलफल २६ गतेका लागि बोलाइएको भएपनि काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरिसकेको उनले बताए ।