नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति जो बाइडेन जी २० शिखर सम्मेलनमा भाग लिन भारत आउने भएका छन्। सेप्टेम्बर ७ देखि १० सम्म बाइडेन भारतमा रहने छन्।
ह्वाइट हाउसले मंगलबार भ्रमणको घोषणा गरेको र यस क्रममा बाइडेनले रुस–युक्रेन युद्धको प्रभावलगायत धेरै विश्वव्यापी चुनौतीहरूबारे छलफल गर्ने बताइएको छ।
ह्वाइट हाउसका अनुसार उनको मुख्य ध्यान गरिबी र जलवायु परिवर्तनसँग जुध्ने चुनौतीसँग लड्न बहुपक्षीय विकास बैंक (एमडीबी) को सुधारमा केन्द्रित हुनेछ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भ्रमणको सन्दर्भमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति बाइडेनले जी–२० देशसँग विश्वव्यापी समस्या समाधानका लागि संयुक्त प्रयासबारे छलफल गर्ने छन्। छलफल हुने विषयहरूमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तनसँग जुध्ने, युक्रेन युद्धका आर्थिक र सामाजिक प्रभावहरूलाई कम गर्ने समावेश छ।’