काठमाडौंः नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने मोडमा पुगेको छ। माओवादीले पार्टीको नाम परिवर्तनका लागि छलफल समेत अघि बढाएको छ।
गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँदै नाम परिवर्तनबारे आगामी महाधिवेशनमा निर्क्यौल गर्ने निर्णय गरेको हो।
पदाधिकारी बैठकको निर्णयबारे भदौ ३० गते सर्कुलर जारी गर्दै माओवादी केन्द्रले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल भइरहेको उल्लेख गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र महासचिव देव गुरूङले हस्ताक्षर गरेर तल्ला कमिटीहरूमा पठाएको सर्कुलरमा पार्टी एकतालाई सफल बनाउन माओवादी केन्द्र छोड्न सकिने उल्लेख छ।
२०७५ मा एमालेसँग एकीकरण गर्दा माओवादीले नाम छोडेको थियो। सर्वोच्च अदालतको आदेशपछि अध्यक्ष प्रचण्डले पुरानै माओवादी केन्द्र ब्युँताएका थिए।