काठमाडौं: विवादित छविका व्यवसायी तेजबहादुर चन्द कञ्चनपुरमा देखिएका छन्। आज (मंगलबार) चन्द जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नेपाल प्रहरीका उत्कृष्ट अफिसर र कार्यालय खोज्दै हिंडेको एआइजीसहितको टोलीसँग प्रकट भएका हुन्।
चन्दको प्रहरीको निरीक्षण कार्यक्रममा एआइजी र डिआइजीसँगैको तस्बिरसमेत सार्वजनिक भएको छ। कार्यक्रममा ती चन्द एआइजी सन्दीप भण्डारी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भरतबहादुर बोहरासँगै देखिएका हुन्। प्रहरीभित्रको आन्तरिक निरीक्षण र मुल्यांकनको कार्यक्रममा विवादित मान्छे देखिएपछि अहिले आलोचना भैरहेको छ।
स्रोतका अनुसार ती चन्दले प्रहरी, प्रशासन र अख्तियारमा विभिन्न अवैध सेटिङ मिलाउने गरेकाले निकट मानिन्छन्। उनी केही समय अगाडि एक भ्रष्टाचार मुद्दाको विषयमा जोडिएर विवादमा आएका थिए। कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दाका मुख्य आरोपी रहेका ती तेजबहादुरलाई अख्तियारले सेटिङमा उन्मुक्ति दिएको विषयमा उनी मुछिएका थिए।
पूर्व प्रहरी अधिकृतसमेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले नै भ्रष्टाचार मुद्दा लाग्नबाट ती चन्दलाई जोगाएको आरोप लागेको थियो। ती चन्दको कञ्चनपुरमा अवैध क्रसर पनि रहेको बताइन्छ। तीनै चन्द प्रहरीको आन्तरिक निरीक्षणमा देखिनुले प्रहरीमाथि पनि प्रश्न उठ्ने देखिन्छ।
यद्यपि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले भने स्थानीयलाई पनि कार्यक्रममा सहभागी गराइएको जानकारी दिए। उनले स्थानीयलाई आकस्मिक बोलाइएकोमा को-को आए ? भनेर यकिन नभएको बताए। उनका अनुसार कार्यक्रममा २२ जनाभन्दा बढी नागरिक सहभागी थिए। त्यसमा तेजबहादुर पनि परेका हुन्।
तेजबहादुरलाई मुद्दा किन लाग्नुपर्ने ?
भीमदत्तमा दुई चरणमा नदीजन्य वस्तुको ठेक्कामा भ्रष्टाचार भएको पाइएको छ। एउटा आर्थिक वर्ष २०७६/०७७ मा भएको पाइन्छ भने अर्को पछिल्लो आर्थिक वर्षमा भएको पाइन्छ। दुबैमा मुद्दाको प्रकृति उस्तै छ, मुद्दा पनि नदीजन्य वस्तुको ठेक्कामा राजस्व चुहावट गरेको भन्ने नै हो। तर एकै प्रकृतिको मुद्दामा सोही भूमिका निर्वाह गर्ने फरक फरक मान्छेलाई भने अख्तियारबाटै विभेद भएको देखिन्छ। जसमा आर्थिक वर्ष २०७६/०७७ को ठेक्का सम्झौता गरेर अख्तियारी लिने तेजबहादुर चन्दलाई मुद्दा नलगाइएको र पछिल्लो आर्थिक वर्षको ठेक्कामा सम्झौता गर्ने दिवाकर भट्टलाई मुद्दा लगाइएको देखिएको हो।
र, यो पनिः