काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसङ्ग कोशीको सरकारवारे छलफल सकारात्मक नभएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताइएको छ ।
समाजवादी मोर्चा नेपालले धनगढीमा २९ गते गर्ने आमसभाको बारेमा एक किमिमले सहमति भएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘बढ्दो महँगी रोक्न गम्भीर छलफल गर्ने सहमति भएको छ । विज्ञहरुसँग आगामी शनिबारका दिन छलफल गर्नेसम्बन्धमा प्रधानमन्त्रीले सहमति जनाएको र त्यसअघि गठबन्धनमा आवद्ध दलहरुबीच पनि कुराकानी गर्नुपर्नेमा एकमत भएको छ ।’
अध्यक्ष नेपालको पार्टीले दिएको ज्ञापनपत्रबारे छलफल गरेर टुंगोमा पुग्न प्रधानमन्त्री सकारात्मक भएको अध्यक्ष नेपालको दाबी छ । आजको वार्तामा उनीहरुबीच समाजवादी मोर्चा गठन भए पनि तल्लो तहका नेता तथा कार्यकर्ताबीच देखिएको असमझदारीलाई हल गर्न एउटा संयन्त्र बनाउनेबारे पनि छलफल भएको बताइन्छ ।
कोशी प्रदेश सरकारमा उत्पन्न पछिल्लो घटनाक्रमलाई सुक्ष्म ढंगले अध्ययन गर्ने सम्बन्धमा पनि उनीहरुबीच कुराकानी भएको थियो । आजै बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि सिंहदरबारमा भेटवार्ता भएको थियो । उक्त भेटमा सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक अघि बढाउने सम्बन्धमा छलफल भएको जानकारी दिइएको थियो ।
प्रधानमन्त्री र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच पनि पछिल्ला दिनमा भेटघाट भइसकेको छ । कोशी प्रदेश सभामा आज दिउँसो राजीनामा दिएका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन नगर्नेबारे यसअघि नै सहमति भएको सन्दर्भ पनि आजको भेटमा उठेको थियो ।
हिक्मत कार्की नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने सम्बन्धमा कार्की स्वयमले विभिन्न राजनीतिक दलका नेताहरुसँग गरेको प्रयासलाई अध्यक्ष ओलीले महत्व नदिएकोबारे पनि आजको भेटमा कुरो उठेको बताइन्छ । यता अध्यक्ष नेपाल मेची–महाकाली जागरण अभियानअन्तर्गत दुई साता लामो देशव्यापी दौडाहामा रहेका छन्।