काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि धनगढी जाँदै छन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न धनगढी जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड भोलि बिहान सवा ९ बजे श्री एयरको नियमित उडानबाट धनगढी पुग्ने कार्यतालिका छ ।
उनी धनगढी विमानस्थलबाट सोझै लम्की जाने छन्। माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्न पुग्ने कार्यतालिका रहेको छ ।
मध्यान्ह १२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर २ बजे धनगढीमा प्रचण्डले समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बेलुकी साढे ५ बजे प्रधानमन्त्री प्रचण्ड सोही विमान कम्पनीको उडानबाट काठमाडौं फर्किने जनाइएको छ ।