काठमाडौं : नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्दैछन्। युवा संघले तीनकुनेमा र प्रसाईँको समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन्।
दुवै पक्ष उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारीमा छन्। सोही प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक अवस्था मात्र सवारीसाधन लिएर निस्किन अनुरोध गरेको छ।
प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्था मात्र सवारीसाधन प्रयोग गर्न अनुरोध गरेको हो। सडकमा निकिस्नुपूर्व १०० वा १०३ मा फोन गरेर जानकारी लिन प्रहरीले आग्रह गरेको छ।
प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन्। काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ।
ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन्।