काठमाडौं– बालिका बलात्कारको आरोप लगोका व्यापारीलाई बचाउन नमान्दा ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयका साहयक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले सरुवा भएको छ ।
एक नाबालिगमाथि भएको जबरजस्ती करणी (बलात्कार) मुद्दा कमजोर बनाउन भन्दै पटकपटक दबाब दिँदा पनि नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका सहन्यायाधिवक्ता संगीता थोकरको सरुवा गरिएको हो।
महान्यायाधिवक्ता कार्यालयबाटै मुद्दा कमजोर बनाउन भन्दै पटक–पटक दबाब आएको, तर आफूले नमानेपछि हिजो बिहीबार मात्रै सरुवा गरिएको थोकरले बताएकी छिन् ।
एक नाबालिगलाई बलात्कार गरेको आरोपमा कन्चनपुरको भीमदत्त नगरपालिका–४ स्थायी ठेगाना भइ ललितपुर इमाडोलस्थित ग्रिनहिल सिटी बस्ने ३६ वर्षीय सुशील चटौतविरुद्ध मुद्दा चलेको थियो। चटौत ट्रान्सपोर्ट, होटल व्यवसाय गर्दै आएका व्यक्ति हुन्। उनै चटौतले आफ्नै घरमा उनकै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले मुद्दा दायर गरेको थियो।
उक्त मुद्दाको अनुसन्धान सकेर प्रहरी वृत्त सातदोबाटोले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सोही मुद्दा कमजोर बनाउन भन्दै महान्यायाधिवक्ता कार्यालयलगायत विभिन्न शक्तिकेन्द्रबाट दबाब आएकोमा आफूले नमान्दा सरुवा भएको थोकरले बताइन्।
उनी जिल्ला सरकारी वकिल कार्यालय ललितपुर आएको जम्मा १५ दिन मात्रै भएको हो। जिम्मेवारी सम्हालेको १५ दिनमै थोकरलाई फेरि सरुवा गरिएको छ।
सामान्यतया एकपटक सरुवा भएर जिम्मेवारी सम्हालेको २ वर्ष नभइ कर्मचारीको सरुवा गर्ने चलन छैन। तर, निर्देशन (मुद्दा कमजोर बनाउने दबाब) नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा थोकरको सरुवा भएको छ। थोकरलाई हेटौंडास्थित बगमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ।
सरकारी वकिल थोकरबाट मुद्दा कमजोर पार्न नसकिएपछि पीडित बालिकालाई प्रतिवादी पक्षले होस्टायल बनाएर बयान समेत फेर्न लगाएको थियो। पीडित बालिकालाई चटौतकै गाडीमा राखेर बयानका लागि भन्दै अदालतसम्म पुर्याइएको पाइएको छ। प्रतिवादी पक्षले बालिकालाई फकाएर बयान समेत फेर्न लगाएको छ।
घटनाको सुरुवात गत चैत १० गतेबाट सुरु भएको थियो। चैत १० गते चटौतको घरमा बस्दै आएकी बालिका विद्यालय गएकी थिइन्। विद्यालय समय सकिएर घर फर्किने बेलामा भने उनी घर नै जान मानेकी थिइनन्। घर नजाने बरु आत्महत्या गर्ने बताएपछि स्कूल प्रशासनले प्रहरीलाई खबर गरेको थियो। प्रहरी र बाल मनोबिमर्शकर्ताको काउन्सिलपश्चात बालिकाले आफूलाई चटौतले बतात्कार गर्ने गरेको खुलासा गरेकी थिइन्।
यो पनि हेर्नुहोस्
महेन्द्रनगरको हाई प्रोफाईल व्यक्ति जोडिएको बलात्कार मुद्दामा प्रहरीदेखि अदालतसम्मै बयान फेर्ने चलखेल
यसरी बाहिरिएको थियो सुशील चटौतले आफ्नै घरमा काम गर्ने बालिका बलात्कार गरेको घटना
सुशील चटौतको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता कार्यालयबाट दबाब