बाजुरा-बाजुराको बडिमालिकास्थित बुढीगंगा नदीमा पुल निर्माणमा ढिलाइ भएको छ। ठेकेदारको लापरवाहीका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो।
५० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० मा ठेक्का भएको थियो। ठेक्का पाएको काष्ठमाण्डौं मसिना जेभीले तदारुकताका साथ काम नगर्दा अहिलेसम्म पुल निर्माण कार्य पूरा भएको छैन।
चार करोड ४७ लाख लागतमा निर्माण हुने सो पुलको ठेक्का अवधि २०७५ असार ३० सम्म रहेको थियो । तर, अझै पुल अधुरै रहेको छ।
ठेकेदारको लापरवाहीले गर्दा छ वर्षसम्म पनि पुल निर्माण कार्य पूरा हुन नसकेको भन्दै स्थानीयले आक्रोस पोखेका छन्।
त्यस्तै, बडिमालिकाकाकै बाउली खोलामा निर्माणाधीन २५ मिटर पक्की पुल निर्माणको कार्य पनि तदारुकताका साथ हुन सकेको छैन।
२५ मिटर लामो सो पुलको निर्माणको कार्य सुस्त गतिमा भइरहेको छ।
एक वर्ष निर्माण अवधि रहेको पुल निर्माणको ठेक्का टीडीआर जुगल कौशिक जेभीले पाएको छ। सो पुलको लागत रकम चार करोड ९५ लाख रुपैयाँ रहेको छ।