काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा भएको कामबाट आफु खुसी भएको बताएका छन्।शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले महानगरवासीको दैनिक जीवन सहज बनाउने गरि काम गरेको दाबी गरे।
‘मेरो कार्यकालमा धेरै काम गरेको छु। महानगरवासी खुसी छन्। म पनि खुसी छु,’ उनले भने,’ एक दिन व्याख्यात्मक रुपमा भनौला केहि गर्न नसकिएका काम पनि छन्।’ उनले भएका कामहरु बारे ३२ वटै वडाध्यक्षलाई समेत सोध्न आग्रह गरे।
उनले आफ्नो कार्यकालमा सबैभन्दा धेरै सम्पदा संरक्षणको काम भएको दाबी गरे। निर्वाचित भएर आएपछि पहिलो प्राथमिकता नै २०७२ सालको शक्तिशाली भुकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माण र जिर्णोद्वार रहेको उनको भनाइ छ। काष्ठमण्डप, कमलपोखरी, दरबार हाइस्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहा:बही, मठमन्दिर,चैत्य,विहार, गुठीघर जस्ता १५० भन्दा बढी सम्पदाहरुको पुननिर्माण भएको उनले बताए।