दार्चुला-स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दार्चुला जिल्लामा चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ। गाउँ–गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ।मुख्य दुई पार्टीका नेताहरु प्रचारप्रसारका लागि गाउँ पसेका छन्। उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउँदै लगेका छन् । जिल्लामा मुख्य दुईदल एमाले कांग्रेस अभियान नै लिएर जनताको माझ भोट माग्न थालिसकेको छ। चुनावी गतिविधिका कारण स्थानीय बजारमा व्यापारिक चहलपहलसमेत वृद्धि भएको छ । मानिसहरुको आवतजावत बढेपछि दैनिक कारोबारमासमेत वृद्धि भएको यहाँका व्यापारी बताउँछन्।
दशैँ तिहारपछि प्रायः सुनसान बनेका यहाँका गाउँघर अहिले नेता कार्यकर्ताको उपस्थितिले चहलपहल बढेको छ। गाउँमा स–साना चिया पसलदेखि ठूला होटलसम्ममा नेता कार्यकर्ताको जमघट हुने गरेको छ। चुनावका कारण आर्थिक गतिविधि वृद्धि भएपछि व्यवसायीहरु उत्साहित भएका छन्।
राजनीतिक दलका बैठक, सभा, कोठे तथा होटलमा हुने छलफलजस्ता गतिविधि बाक्लिएपछि गाउमा आर्थिक कारोबारमा वृद्धि भएको स्थानीय सुरेन्द्र सिह धामीले बताए। वडा तहदेखि गाउँपालिका हुँदै नगरक्षेत्रसम्म नै दलका उम्मेदवारहरु आफ्ना एजेण्डाहरु सुनाउँदै घरदैलो गर्दैछन्। “नेता कार्यकर्ताको उपस्थितिले दुर्गम गाउँका टुक्रे बजारमा समेत व्यापार बढेको छ”, धामीले भने। चुनावी अभियान बढेसँगै ग्रामीण क्षेत्रका सामान्य होटल, किराना पसल, सहकारी, बैंक, यातायात व्यवसायी, ब्यानर छपाइ, इन्धन बिक्री, खसी तथा कुखुरापालक किसानलगायतको व्यापार बढेको व्यवसायी बताउँछन्। जिल्लामा मुख्य प्रतिस्पर्धी नेकपा एमाले र नेपाली काँग्रेसका दैनिकजसो चुनावी कार्यक्रम भइरहेका छन् ।
अन्य नेकपा माउवादी केन्द्र एकिकृत समाजबादी राप्रपा प्रजातान्त्रिकलगायत दलले पनि दैनिक चुनावी प्रचारका कार्यक्रम गरिरहेका छन् । त्यस्ता कार्यक्रम लिएर पार्टीका नेताहरु दुर्गम गाउँका चोक–चोकसम्म पुगेका छन् । यसरी गाउँसम्म पुगेका दलका नेता कार्यकर्ताले खाँदा, हिँड्दा गाउँका साना व्यवसायीको समेत व्यापार बढेको छ । चुनावमा आफ्नो पक्षमा बढीभन्दा बढी मत पार्नका लागि पनि नेताहरुले यो बेला बढी खर्च गर्ने गरेका छन् ।
चुनावी कार्यक्रमकै कारण गाउँको साग, आलु, दूध, दही, अण्डा, घिउ, कुखुरा, खसी, चामललगायतको व्यापार वृद्धि भएको मालिकार्जुन गाउँपालिका १ का व्यापारी आन सिह साउदले बताए। “गाउँमा चुनावी चहलपहल शुरु भएको छ”, उनले भने। “धेरैले त अधिकांश दिन गाउँ डुलेरै बिताइरहेका छन्।”दैनिकजसो सवारी लिएर नेताहरु गाउँ डुल्न थालेपछि सवारीधनीको व्यवसाय पनि ह्वात्तै बढेको छ । वर्षौंदेखि सदरमुकाम हुँदा अड्किएको अधिकार सबै गाउँमा गएपछि गाउँमा यसै पनि व्यापारिक चहल पहल बढेको थियो।
अहिले चुनावी कार्यक्रमले झनै कारोबार वृद्धि गराएको अर्का होटल व्यवसायी प्रदीप साउदले बताए । बजार क्षेत्रका होटलमा समेत नेता कार्यकर्ताको भीडभाड बढेकाले कारोबार वृद्धि भएको छ । यता जिल्ला सदरमुका क्षेत्रका होटलमा मासु खाना, पेय पदार्थ तथा मादक पदार्थसमेतको कारोबार निकै बढेको पाइएको छ । जिल्लाको दोस्रो ठुलो बजार गोकुलेश्वरमा पनि व्यावार बढेको पाइएको छ । पार्टीका कामले गाउँका नेतासमेत सदरमुकाम बसेका छन् । चुनावमा सबैभन्दा धेरै खर्च खाना, खाजा र पेय पदार्थमै हुने गरेको छ ।