काठमाडौं: कालीमाटी तरकारी बजारमा भारतको प्याज आउन छोडेको छ । भारतले निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै कालीमाटीमा भारतको प्याज आउन छोडेको हो ।
आइतवार रातिदेखि नै कालीमाटीमा भारतीय प्याज भित्रिएको छैन । सामान्य अवस्थामा भारतबाट दैनिक एक सय टन प्याज भित्रिँदै आएको थियो ।
भारबाट भित्रिन छाडेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै हटाएको छ ।
भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुुल लगाएको थियो ।
उक्त महसुुल २१ डिसेम्बर २०२३ सम्म लागु हुने भनिएको छ । भारत सरकारले आफ्ना नागरिकलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा अहिले प्याजको भाउ प्रतिकेजी २४ भारु (नेपाली ३८ रुपियाँ) खुद्रामा कारोबार भइरहेको छ । भारतमा अगस्ट महिनामा विगत एक दशकयताकै सुक्खायाम लागेकाले पनि उत्पादनमा कटौती भएको आकलन गरिएको छ ।
आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ६१ रुपियाँ थोकमा कारोबार भएको प्याजको भाउ सोमबार बढेर ९० रुपियाँसम्म पुुगेको छ । यसको भाउ खुुद्रामा ११० रुपियाँमा कारोबार भएको छ । जुुन स्वाभाविक मूल्य हो । -गोरखापत्र दैनिकमा