धनगढी: कञ्चनपुर प्रहरी र मातहतका कर्मचारीका एकपछि अर्का काण्ड सार्वजनिक भैरहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीले नै जिप्रकाभित्रको गैरजिम्मेवारपूर्ण हर्कत र फितलो सुरक्षा व्यवस्थाको विषय उजागर गरेका हुन्।
हिजो (आइतबार) मात्रै महेन्द्रनगरपोष्ट डटकमले कञ्चनपुर प्रहरीको मुद्दा शाखा हेर्ने इन्सपेक्टर बिनु शाहीले तत्कालीन प्रहरी जवान नरेन्द्र नाथ (नवीन) माथि गरेको यातना प्रकरण सार्वजनिक गरेको थियो। आज (सोमबार) सोही प्रकरणमा ‘विवादित’ इन्सपेक्टर शाहीको बचाउ गर्न कञ्चनपुर प्रहरीले एक विज्ञप्ति जारी गरेको छ।
सो विज्ञप्तिमार्फत कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश डाँगीले इन्सपेक्टर शाहीको कुनै गल्ती नसमेटी तत्कालीन प्रहरी जवान नाथ अनाधिकृत रुपमा प्रहरी हिरासतमा घुसेको जनाएका छन्। यस्तै पुस २२ गतेका दिन नाथ दिउँसोको समयमा आफूखुसी हिरासत कक्षमा गएको र त्यहाँका थुनुवाहरुलाई सुर्ती, गुट्खाजन्य पदार्थ दिईरहेको अवस्थामा फेला परेको डीएसपी प्रकाश डाँगीले जानकारी दिएका छन्।
यसरी अनाधिकृत रुपमा अवैध सामानसहित हिरासतमा कोही व्यक्ति घुस्दासमेत हेरिबस्ने त्यहाँको सुरक्षा व्यवस्था कतिसम्म फितलो छ भन्ने कुराले कञ्चनपुर प्रहरीको कमाण्ड र हिरासत सुरक्षा व्यवस्थाको धज्जी उडाएको छ। जबकी हिरासतमा हरपल प्रहरी तैनाथ हुनुपर्ने व्यवस्था हुन्छ।
त्यसमाथि प्रहरीका प्रवक्ताले नै हिरासतमा अवैध सामानसहित अनाधिकृत व्यक्ति घुसेको कुरा स्वीकार गर्दा कञ्चनपुर प्रहरीको निर्लज्जताको पराकाष्ठा पुष्टि भएको सरोकारवालाको दाबी छ। यस्तै सो विज्ञप्तिमा ती तत्कालीन प्रहरी जवान नाथलाई थुनिएको र यातना दिइएको कुरा भने समावेश गरिएको छैन। महेन्द्रनगरपोष्टले सो बारे बुझ्दा नाथले पाएको यातना र इन्सपेक्टर शाहीको विषयमा अब जाँचबुझ हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी डाँगीले बताए।
यस्तै उनले ती तत्कालीन प्रहरी जवान नाथ हिरासतमा घुसेको घटनामा पनि निर्दोष रहेको स्पष्ट पारेका छन्। हिजोमात्र कञ्चनपुर प्रहरीकी ‘विवादित’ इन्सपेक्टर शाहीले आफूले एक प्रहरी जवानलाई यातना दिएको घटना बाहिरिएपछि रमाइलो लागेको प्रतिक्रिया दिएकी थिईन्। इन्सपेक्टर शाहीले दिएको यातनाकै कारण प्रहरी जवान नाथले जागिरबाट राजीनामा गरेको बताएका थिए। शाहीले आफूलाई बिना कारण थुनेर यातना दिएको नाथको भनाई छ।
शाहीले पटकपटक थुनुवा तथा आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारीहरुलाई यातना दिने गरेका घटनाहरु बाहिरिए पनि उनलाई कुनै कारबाही भएको छैन। हाकिमसँग राम्रो सम्बन्ध भएका कारण शाहीलाई उन्मुक्ति मिलिरहेको स्रोतको बुझाई छ।
शाहीले बाजुरामा कार्यरत रहेका तत्कालीन प्रहरी जवान नाथ बिदामा महेन्द्रनगर आएको जिप्रकाको हिरासतमा घुसेको भन्दै यातना दिएकी थिइन्। त्यसपछि नाथले राजीनामा दिएको र स्वीकृत समेत भैसकेको जनाएका छन् इन्सपेक्टर शाही बेलाबेला विवादमा आइरहने प्रहरी अधिकृत हुन्।
केही समय अघि पनि हिरासतको विषय जोडिएको घटनामा उनी विवादमा आएकी थिइन्। त्यसबेला पनि उनलाई कसैले केही नगरी घटना सामसुम भएको थियो। यतिमात्र होइन, शाहीले महेन्द्रनगरका कयौं सेवाग्राही र नागरिकलाई दु:ख दिएको बुझिएको छ। एसपी कमल थापाको संरक्षणमा यी सबै गतिविधि भइरहेको बताइन्छ।
यो पनि पढ्नुस्:
कञ्चनपुरकी ‘विवादित’ इन्सपेक्टर बिनु भन्छिन् -रमाइलो लाग्यो !
इन्सपेक्टर ‘बिनु’को ज्यादती भएपछि जवानको ‘रिजाइन्’
कञ्चनपुरमा पुलिस थुनाभित्रै कुटिन्छन् थुनुवा ! इन्सपेक्टर बिनुको गोलमटोल जवाफ [भिडिओे]