काठमाडौं-फागु अर्थात होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन तयारी थालिएको छ। काठमाडौं उपत्यकालाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाइएको छ।
होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।
होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए।
जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही हुने उनले बताए। उनकानुसार ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ।
सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित जाँच गर्ने छन्। हनुमानढोका दरबार वसन्तपुर, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्र, जावलाखेल र सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिने छ।